काठमाडाैँ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएसँगै जनआक्राेश बढेको छ।
घिसिङलाई बर्खास्त गरेको विरोधमा स्वतन्त्र नागरिकको तर्फबाट काठमाडौंको माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन् ।
आज बिहान मात्रै प्राधिकरणको कार्यालय नजिक पर्ने प्रदर्शनीमार्गमा विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका थिए । आज दिउँसो पनि विभिन्न संघसंघठनहरुले विरोध प्रदर्शनको कार्यक्रम राखेका छन् ।
त्यस्तै आज बिहान एकीकृत समाजवादीनिकट जनसंगठनले घिसिङलाई हटाएको विरोधमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यालय अगाडि प्रदर्शन हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर कार्यालय वरपरमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको हो। सशस्त्र र नेपाल प्रहरीको टोली प्राधिकरण कार्यालयको मुख्य गेट र वरपर तैनाथ छन् ।
घिसिङलाई हटाउन खोजेपछि गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद बैठकमै र कांग्रेस नेता शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले सार्वजनिकरूपमै सरकारको आलोचना समेत गरेका छन्।

