इतिहासमा राजनीतिक क्रान्ति र हत्याका अनेकौँ घटना दर्ता छन्, तर सन् १६७२ मा नेदरल्यान्ड्समा घटेको एउटा घटनाले भने सम्पूर्ण युरोपलाई नै स्तब्ध बनाएको थियो।
आफ्नै देशको समृद्धि, अर्थतन्त्र र अन्तर्राष्ट्रिय प्रभाव बढाउन दुई दशकसम्म महत्त्वपूर्ण योगदान दिएका डच गणतन्त्रका प्रमुख नेता जोहान डि विट र उनका भाइ कर्नेलियस डि विटलाई आक्रोशित जनताको भिडले केवल हत्या मात्र गरेन, उनीहरूका शरीरका अङ्गहरू काटेर पकाएर तथा काँचै खाएका थिए। यो घटनालाई युरोपेली इतिहासकै सबैभन्दा विभत्स र राजनीतिक अन्धभक्तिको कालो दिनका रूपमा लिइन्छ।
१७ औँ शताब्दीको मध्यतिर नेदरल्यान्ड्स व्यापार, कला र जलसेनाका हिसाबले विश्वकै सबैभन्दा शक्तिशाली राष्ट्रहरूमध्ये एक मानिन्थ्यो। यस समयलाई डच इतिहासको ‘स्वर्ण युग’ भनिन्छ। जोहान डि विट एक अत्यन्तै प्रभावशाली राजनीतिज्ञ र चतुर गणितज्ञ थिए, जसले सन् १६५३ मा मात्र २८ वर्षको उमेरमा डच गणतन्त्रको मुख्य प्रशासनिक पद ‘ग्र्यान्ड पेन्सनरी’को जिम्मेवारी सम्हालेका थिए। उनले झन्डै २० वर्षसम्म देशको सफल नेतृत्व गर्दै व्यापार र जलसेनालाई अद्वितीय उचाइमा पुर्याउनुभयो। उहाँ दृढ गणतन्त्रवादी भएकाले राजतन्त्र वा ‘हाउस अफ ओरेन्ज’ का राजकुमार विलियम तेस्रोलाई सत्ताबाट टाढा राख्न चाहनुहुन्थ्यो।
तर, सन् १६७२ मा आइपुग्दा डच गणतन्त्रमाथि इतिहासकै ठूलो सङ्कट आइपर्यो। यस वर्षलाई डच इतिहासमा ‘रैम्पयार’ अर्थात् ‘विपत्ति-वर्ष’ भनेर चिनिन्छ। फ्रान्सका राजा लुइस चौधौँ, इङ्गल्यान्डका राजा चार्ल्स दोस्रो र जर्मनीका दुई शक्तिशाली राज्यहरूले एकैसाथ नेदरल्यान्ड्समाथि जल र थल दुवै मार्गबाट भीषण आक्रमण गरे। जोहान डि विटले जलसेनालाई बलियो बनाएका भए पनि जमिनमा लड्ने थलसेना कमजोर थियो। फ्रान्सेली सेनाले तीव्र गतिमा डच भूभागहरू कब्जा गर्न थालेपछि देशमा हाहाकार मचियो, व्यापार ठप्प भयो र जनतामा चरम निराशा तथा त्रास फैलियो।
देश युद्धमा पराजित हुँदै जाँदा राजतन्त्र समर्थकहरू र सर्वसाधारणले यसको सम्पूर्ण दोष जोहान डि विट र उहाँको सरकारमाथि थुपारे। सोही समयमा राजनीतिक षड्यन्त्र अन्तर्गत जोहानका भाइ कर्नेलियस डि विटमाथि राजकुमार विलियम तेस्रोको हत्या प्रयास गरेको झुटा आरोप लगाइयो। कर्नेलियसलाई गिरफ्तार गरी ‘द हेग’ स्थित ट्युइन्पोर्ट जेलमा राखेर कठोर यातना दिइयो। तर, घोर यातनाका बाबजुद पनि कर्नेलियसले अपराध स्वीकार गरेनन्।
सन् १६७२ अगस्ट २० का दिन जोहान डि विट आफ्ना भाइ कर्नेलियसलाई जेलबाट रिहा गराउन र भेट्नका लागि द हेगस्थित जेल पुगेका थिए। यही मौकाको फाइदा उठाउँदै राजतन्त्र समर्थकहरूले जेल बाहिर हिंसात्मक भिड जम्मा गरे। भिडलाई योजनाबद्ध रूपमा उक्साइएको थियो र जेलको सुरक्षामा खटिएका सैनिकहरूलाई समेत त्यहाँबाट हट्न आदेश दिइयो। त्यसपछि आक्रोशित र रक्सीको नशामा धुत भिडले जेलको ढोका तोडेर दुवै भाइलाई घिसार्दै बाहिर निकाल्यो।
भिडले दुवै भाइलाई गोली हानी र प्रहार गरी निर्मम हत्या गर्यो। तर क्रूरता त्यतिमा मात्र रोकिएन; भिडले उनीहरूका कपडा च्यातेर शरीरलाई नाङ्गो बनायो र उल्टो टाँगेर अङ्ग-भङ्ग गर्यो। मानिसहरूले उनीहरूको मुटु, कलेजो र शरीरका अन्य अङ्गहरू काटेर निकाले। धेरैजसो अङ्गहरूलाई त्यहीँ आगोमा पकाएर वा काँचै खाइयो भने बाँकी अङ्गहरूलाई उपहारका रूपमा बिक्री गरियो। यो अमानवीय दृश्यले भीडतन्त्रको सबैभन्दा भयावह रूप प्रदर्शन गरेको थियो।
यो भयानक घटनापछि राजकुमार विलियम तेस्रो नेदरल्यान्ड्सको नयाँ शासक बने। पछि इतिहासकारहरूको अध्ययनबाट विलियम तेस्रोले यस हत्याका मुख्य योजनाकारहरूलाई कुनै कारबाही नगरेको र उल्टै उच्च पद तथा संरक्षण दिएको पुष्टि भयो, जसले यसमा गहिरो राजनीतिक षड्यन्त्र रहेको प्रस्ट पार्छ। आज पनि यो घटनालाई इतिहासमा राजनीतिक उन्माद र भीडतन्त्रको खतरनाक परिणामका रूपमा सम्झिने गरिन्छ। जोहान र कर्नेलियस डि विटका केही बाँकी अवशेषहरू (जिब्रो र औँला) आज पनि नेदरल्यान्ड्सको ‘हाग्स हिस्टोरिश म्युजियम’ मा सुरक्षित राखिएका छन्।

