राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले परराष्ट्रमन्त्रीको जवाफप्रति तीव्र असन्तुष्टि जनाउँदै मंगलबार बसेको प्रतिनिधि सभाको बैठक बहिष्कार गरेकी छन्।
कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव स्वदेश ल्याउने विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्तबुझ्दो नभएको र थप प्रश्न सोध्न नपाएको भन्दै उनी बैठक कक्षबाट बाहिरिएकी हुन्।
यसअघि, ३७ दिनअघि कम्बोडियामा निधन भएका राईको शव नेपाल ल्याउन सरकारले उदासिनता देखाएको भन्दै सांसद तामाङले संसद्मा उभिएरै विरोध जनाएकी थिइन्। अर्थ मन्त्रालयले आवश्यक बजेट छुट्याइसकेको भए पनि परराष्ट्र मन्त्रालयले कार्यविधि नबनाएका कारण शव ल्याउने प्रक्रिया रोकिएको उनको आरोप छ।
मन्त्रीको जवाफपछि पूरक प्रश्न सोध्न खोज्दा सभामुखले प्रतिनिधि सभा नियमावलीअनुसार मन्त्रीको जवाफमा थप प्रश्न सोध्ने व्यवस्था नरहेको भन्दै आफ्नो आसन ग्रहण गर्न आग्रह गरेका थिए। सभामुखले पटक-पटक संसदीय मर्यादा पालन गर्न निर्देशन दिए तापनि असन्तुष्टि जनाउँदै सांसद तामाङ बैठक छाडेर बाहिरिएकी हुन्।

