भारतको उत्तर प्रदेशस्थित मेरठ खण्डमा एक महिलाले आफ्नो प्रेमीसँग मिलेर श्रीमानको विभत्स हत्या गरेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। आफ्ना सवारी चालक (ड्राइभर) सँगको प्रेम सम्बन्धका कारण ती महिलाले श्रीमानलाई दूधमा निन्द्राको औषधि मिसाई बेहोस बनाएर विषालु सर्पद्वारा डसाएर हत्या गरेको भारतीय प्रहरीको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार हत्या आरोपी दामिनीले श्रीमान अतुललाई बाटोबाट हटाउन विगत एक वर्षदेखि योजना बुनिरहेकी थिइन्। उनले अपराधको कुनै प्रमाण नछुटोस् भनी इन्टरनेटमा ‘परफेक्ट क्राइम’ गर्ने तरिकाहरू खोज्ने गरेकी थिइन्। त्यसका साथै देशका विभिन्न भागमा भएका चर्चित पति हत्याका घटनाहरूमा प्रहरीले कसरी अपराधी पत्ता लगायो भनी उनले अनलाइन र पत्रपत्रिकाका माध्यमबाट गहिरो अध्ययन गरेकी थिइन्। पुराना अपराधीहरूले गरेका गल्तीहरू आफूबाट नदोहोरिऊन् भन्नका लागि उनले र उनका प्रेमी तुषारले मेरठकै पुराना सर्प काण्ड, नीला ड्रम केस (सौरभ हत्याकाण्ड), र पुणेको चर्चित हत्याकाण्ड जस्ता घटनाहरूको सुरुदेखि अन्त्यसम्मको प्रक्रियालाई नियालेर योजना बनाएका थिए।
सन् २०१७ मा अतुलसँग प्रेम विवाह गरेकी दामिनीको सुरुवाती वैवाहिक जीवन सुखद रहे तापनि दुई वर्षपछि श्रीमानले कुटपिट र यातना दिन थालेपछि सम्बन्धमा खटपट सुरु भएको उनले बयानमा बताएकी छन्। सोही पीडाका बीच करिब एक वर्षअघि सवारी चालक तुषारसँग उनको प्रेम सम्बन्ध सुरु भएको र अन्ततः दुवै मिलेर अतुलको हत्या गर्ने निष्कर्षमा पुगेको प्रहरीले जनाएको छ। पुराना आपराधिक गल्तीहरू नदोहोर्याउने गरी रचिएको यो ‘परफेक्ट मर्डर’ को योजना अन्ततः प्रहरीको सुक्ष्म प्राविधिक र डिजिटल अनुसन्धानका कारण असफल भई आरोपीहरू पक्राउ परेका छन्।

