बेल्जियमलाई हराएर स्पेन विश्वकपको सेमिफाइनलमा!

spot_img

सन् २०२६ को फिफा विश्वकपमा उपाधि दाबेदार स्पेनले आफ्नो सानदार प्रदर्शन जारी राख्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। क्वाटरफाइनलको रोमाञ्चक भिडन्तमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुग्न सफल भएको हो।

स्पेनको यो रियल-लाइफ सफलतासँगै प्रसिद्ध भिडियो गेम कम्पनी ईए स्पोर्ट्सको भर्चुअल भविष्यवाणी फेरि एकपटक शतप्रतिशत सही साबित हुने दिशातर्फ अघि बढेको छ। ईए स्पोर्ट्सले विश्वकप सुरु हुनुअघि नै आफ्नो आधुनिक सिमुलेसन प्रविधि प्रयोग गर्दै यसपटक स्पेनले विश्वकपको उपाधि जित्ने दाबी गरेको थियो।

क्वाटरफाइनलमा बेल्जियम विरुद्ध मैदान उत्रिँदा स्पेनमाथि ईए स्पोर्ट्सको भविष्यवाणीको दबाब र इतिहास रच्ने अवसर दुवै थियो। खेलमा उत्कृष्ट रणनीतिक कौशल प्रदर्शन गर्दै स्पेनले मिकेल मेरिनोको ढिलो गोलको मद्दतमा बेल्जियमको बलियो चुनौतीलाई पन्छाउन सफल भयो। यो जितसँगै स्पेनले सन् २०१० मा विश्वकप जितेयता पहिलो पटक सेमिफाइनलको यात्रा तय गरेको छ। युवा र अनुभवी खेलाडीहरूको सन्तुलन रहेको स्पेनिस टोली अब आफ्नो इतिहासको दोस्रो विश्वकप ट्रफी चुम्न मात्र दुई जित टाढा छ।

फुटबल जगतमा ईए स्पोर्ट्सको सिमुलेसन परिणामलाई निकै उत्सुकताका साथ हेर्ने गरिन्छ। कम्पनीले आफ्नो लोकप्रिय भिडियो गेमको अत्याधुनिक डेटाबेस (खेलाडीहरूको गति, स्ट्यामिना, पासिङ, र रणनीतिक क्षमताको रेटिङ) प्रयोग गरेर हजारौं पटक भर्चुअल खेलहरू गराई यो भविष्यवाणी सार्वजनिक गरेको थियो।

यसअघि यूरो २०२४ मा इङ्गल्याण्ड र २०२३ को महिला विश्वकपमा अमेरिकाले जित्ने ईए स्पोर्ट्सको अनुमान गलत भए तापनि, पुरुष विश्वकपमा भने यसको जादु कायम रहँदै आएको छ।

४८ टोलीको सहभागितामा भइरहेको यो ऐतिहासिक विश्वकपमा बेल्जियम जस्तो बलियो टोलीलाई पाखा लगाउँदै सेमिफाइनल पुगेको स्पेनले ईए स्पोर्ट्सको लगातार पाँचौं सही भविष्यवाणीको कीर्तिमानलाई सुनौलो अक्षरले लेख्नेछ या छैन, त्यो अब केही दिनमै तय हुनेछ।

सम्बन्धित समाचार

ताजा समाचार