फुटबलका जादुगर लिओनेल मेसीका लागि फिफा विश्वकप २०२६ को सुरुवात कुनै सपनाभन्दा कम रहेन।
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाका लागि खेल्दै मेसीले अल्जेरियाविरुद्धको खेलमा सानदार ह्याट्रिक मात्र गरेनन्, बरु विश्वकपको इतिहासमै आफ्नो नाम सबैभन्दा माथि सुनौलो अक्षरले लेख्न सफल भए। ३८ वर्षको उमेरमा पनि मेसीको यो लय र जादु हेर्दा लाग्छ— उनी आफ्नो सम्भावित अन्तिम विश्वकपलाई फेरि एकपटक स्वर्णिम बनाउन पूर्ण रूपमा तयार छन्।
अल्जेरियाविरुद्धको खेलमा ३ गोल गरेसँगै मेसीको विश्वकप इतिहासमा कुल गोल सङ्ख्या १६ पुगेको छ, जसले जर्मनीका महान् स्ट्राइकर मिरास्लाभ क्लोजको विश्वकपमा सर्वाधिक गोल गर्ने सर्वकालीन कीर्तिमानको बराबरी गरेको छ। यो खेल मेसीका लागि अर्को दृष्टिकोणबाट पनि ऐतिहासिक रह्यो, किनकि यो उनको अर्जेन्टिनाका लागि २००औँ अन्तर्राष्ट्रिय खेल थियो भने विश्वकपको ६ वटा संस्करण खेल्ने उनी विश्वकै पहिलो खेलाडी समेत बनेका छन्।
सन् २०२२ मा कतारमा विश्वकप ट्रफी उचालेर आफ्नो जीवनकै सबैभन्दा ठुलो सपना पूरा गरिसकेका मेसीका लागि यो लगातार दोस्रो उपाधि जित्ने सुनौलो मौका हो। करियरको उत्तरार्धमा रहे पनि मेसीको खेलमा कुनै सुस्तता आएको छैन र अल्जेरियाविरुद्धको उनको प्रदर्शनले उनी अझै पनि एक्लै खेलको नतिजा बदल्न सक्छन् भन्ने प्रमाणित गर्छ।
प्रशिक्षक लियोनेल स्कालोनीको नेतृत्वमा रहेको अर्जेन्टिनी टोलीमा एन्जो फर्नान्डेज, आलेक्सिस माक आलिस्टर र लाउतारो मार्टिनेज जस्ता उर्जावान् खेलाडीहरूको राम्रो साथ हुनु र २०२२ मा विश्वकप जितिसकेकाले यसपटक टोलीमा विगतको जस्तो मानसिक दबाब नहुनु अर्जेन्टिनाका लागि थप सकारात्मक पक्षहरू हुन्। फ्रान्स, स्पेन र इङ्गल्यान्ड जस्ता बलिया टोलीहरूबाट आउने चुनौतीहरू सामना गर्नुपर्ने भए तापनि मेसीको टोलीले पहिलो खेलमै जुन किसिमको सङ्केत दिएको छ, त्यसले संसारभरका अर्जेन्टिनी समर्थकहरूमा आशाको नयाँ सञ्चार गराएको छ।
आफ्नो खेल जीवनको अन्तिम अध्याय लेख्दै गरेका यी महान् खेलाडीले यदि यसपटक पनि अर्जेन्टिनालाई विश्वविजेता बनाए भने, त्यो फुटबल इतिहासकै सबैभन्दा गौरवशाली र अपराजित बिदाइ हुनेछ।

