‘बझाङको बाघ’ रविन्द्र ढाँट रोड टु युएफसीको सेमिफाइनलमा

spot_img

नेपाली मिक्स मार्सल आर्ट्स (MMA) का गौरव एवं वर्तमान म्याट्रिक्स फाइट नाइट च्याम्पियन रविन्द्र ढाँटले प्रतिष्ठित ‘रोड टु युएफसी’को सेमिफाइनलमा पुगेर इतिहास रचेका छन्।

चीनको मकाउस्थित ग्यालेक्सी एरेनामा भएको बान्तामवेट विधाको रोमाञ्चक क्वाटरफाइनल भिडन्तमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पाखा लगाउँदै २७ वर्षीय रविन्द्रले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेका हुन्। सुरुवाती तालिका अनुसार रविन्द्रले म्याट्टी इयानसँग प्रतिस्पर्धा गर्ने तय भए पनि इयान घाइते भएपछि अन्तिम समयमा अलिन्टोजोनलाई ‘रिप्लेसमेन्ट’ फाइटरका रूपमा रिङमा उतारिएको थाहा भएको छ।

प्रतिद्वन्द्वी परिवर्तन भए पनि आफ्नो उत्कृष्ट रणनीति र आक्रामक शैली कायम राख्दै ‘बझाङको बाघ’ उपनामले चिनिने रविन्द्रले शानदार जित हात पारे। विश्वकै सबैभन्दा ठुलो र प्रतिष्ठित एमएमए मञ्च ‘युएफसी’को मुख्य स्टेजका लागि छनोट हुने ऐतिहासिक यात्रामा रहेका रविन्द्र अब आधिकारिक सम्झौता  पाउनबाट मात्र दुई जित टाढा छन्।

बझाङको बित्थडचिर गाउँपालिकामा जन्मिएका रविन्द्रको यहाँसम्मको यात्रा निकै संघर्षपूर्ण र प्रेरणादायी छ। कुनै समय भारतमा मजदुरी र चिया पसलमा काम गर्ने क्रममा लुकेर मार्सल आर्ट्सको तालिम सुरु गरेका उनले भारतीय नागरिकताको प्रलोभनलाई लत्याउँदै नेपाली झण्डामुनि नै खेल्ने अडान लिएका थिए। काठमाडौँ आएर प्रशिक्षक डिविज पिया लामाको रेखदेखमा व्यावसायिक प्रशिक्षण सुरु गरेपछि उनको खेल जीवनले नयाँ मोड लिएको हो।

यसअघि सेप्टेम्बर २०२३ मा बैंककमा भएको ‘वान च्याम्पियनसिप’ मा रसियाका तोरेप्ची दोङ्गाकलाई नकआउट गर्दै पहिलो जित निकाल्ने नेपाली फाइटर बनेका उनले गत वर्ष भारतको ग्रेटर नोइडामा आयोजित ‘म्याट्रिक्स फाइट नाइट १७’मा भारतका अपराजित च्याम्पियन चुङरेन कवरेनलाई शानदार नकआउट गर्दै नेपाललाई ऐतिहासिक उपाधि दिलाएका थिए। हालसम्म १० व्यावसायिक खेलमा ९ जितको सानदार रेकर्ड बनाएका रविन्द्रको यो पछिल्लो सफलताले नेपाली खेलकुद क्षेत्रलाई विश्वमञ्चमा फेरि एकपटक गौरवान्वित बनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार