नेपाली मिक्स मार्सल आर्ट्स (MMA) इतिहासमै पहिलो पटक विश्वको सबैभन्दा प्रतिष्ठित मञ्च ‘यूएफसी’ (UFC) को छनोट प्रतियोगितामा नेपालले चुनौती प्रस्तुत गर्दैछ।
मकाउको ग्यालेक्सी एरेनामा जारी ‘रोड टु यूएफसी सिजन ५’ अन्तर्गत आज बिहीबार ब्यान्टमवेट श्रेणीको क्वाटरफाइनलमा नेपाली फाइटर रविन्द्र ढाँटले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनसँग प्रतिस्पर्धा गर्दैछन्। आज बिहान सम्पन्न आधिकारिक तौल मापन (Weigh-in) मा दुवै फाइटरले निर्धारित १३५ पाउण्ड तौल कायम गरेसँगै नेपाली समय अनुसार दिउँसो ३:१५ बजे हुने यो ऐतिहासिक भिडन्तको सम्पूर्ण तयारी पुरा भएको छ।
‘बझाङको बाघ’ उपनामले चिनिने ९-१ को उत्कृष्ट व्यावसायिक रेकर्ड बोकेका रविन्द्र यो मञ्चमा पाइला टेक्ने पहिलो नेपाली फाइटर हुन्। खेलको अन्तिम समयमा अस्ट्रेलियाका म्याटी अयान चोटका कारण बाहिरिएपछि उनको स्थानमा फिलिपिन्सका खतरनाक स्ट्राइकर अलिन्टोजोन (रेकर्ड ७-३) रविन्द्रको प्रतिद्वन्द्वीका रूपमा आएका हुन्।
विश्वभरका खेल विश्लेषकहरूले यो खेलमा रविन्द्रलाई बलियो दाबेदारका रूपमा हेरेका छन्। मकाउमा जारी यस छनोट प्रतियोगिताको विजेताले सिधै यूएफसीसँग पूर्ण व्यावसायिक सम्झौता (UFC Contract) पाउने भएकाले रविन्द्रका लागि यो खेल नेपाललाई विश्व एमएमए मानचित्रमा स्थापित गर्ने सुवर्ण अवसर बनेको छ। यो ऐतिहासिक खेललाई नेपाल र दक्षिण एसियाली क्षेत्रमा सोनी स्पोर्ट्स नेटवर्क र सोनी लिभ (SonyLIV) एप मार्फत प्रत्यक्ष हेर्न सकिनेछ।

