नेपाली मिक्स मार्सल आर्ट्सका उदीयमान फाइटर रविन्द्र ढाँट भोलि (बिहीबार) चीनको मकाउमा ऐतिहासिक प्रतिस्पर्धाका लागि ‘केज’मा उत्रिँदै छन्।
विश्वकै सबैभन्दा ठूलो र प्रतिष्ठित एमएमए प्रवर्द्धक “अल्टिमेट फाइटिङ च्याम्पियनसिप”मा छनोट हुने उद्देश्यका साथ आयोजना भइरहेको ‘रोड टु युएफसी’को ब्यान्टमवेट विधामा उनले नेपालको तर्फबाट ऐतिहासिक चुनौती प्रस्तुत गर्न लागेका हुन्। नेपालको प्रतिनिधित्व गर्दै यो प्रतिष्ठित मञ्चसम्म पुग्ने सीमित नेपाली फाइटरहरूमध्येका एक रविन्द्रले भोलि हुने यस महत्वपूर्ण खेलमा फिलिपिन्सका आक्रामक फाइटर किमबर्ट एलिन्टो जोन (द हन्टर) को सामना गर्नेछन्।
यो प्रतियोगिता ‘विन एन्ड एड्भान्स’ (जितेर अघि बढ्ने) ढाँचामा खेलाइने हुनाले रविन्द्रका लागि यो खेल निकै महत्त्वपूर्ण मानिएको छ। यस खेलमा जित निकाल्न सके उनी नेपालकै इतिहासमा पहिलो पटक आधिकारिक (युएफसी सम्झौता) भित्र्याउने लक्ष्यको निकै नजिक पुग्नेछन्।
व्यावसायिक एमएमएमा सानदार रेकर्ड बनाएर पूर्ण तयारीका साथ मकाउ पुगिसकेका रविन्द्रले भोलिको खेल ‘नकआउट’ वा ‘सबमिसन’ मार्फत आफ्नो पक्षमा पार्दै नेपालको झण्डा विश्व मञ्चमा फहराउलान् भन्नेमा नेपाली खेलकुद प्रेमीहरू माझ निकै ठूलो कौतुहलता र उत्साह छाएको छ। सिङ्गो देश अहिले रविन्द्रको जितको कामनासहित भोलिको भिडन्तको प्रतीक्षामा रहेको छ।

