सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि लामो बिदामा बसेकी छिन् । वरिष्ठताको स्थापित परम्परा र वरीयता क्रमलाई मिचेर आफूभन्दा कनिष्ठ चौथो नम्बरका न्यायाधीश डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त भएसँगै मल्ल बुधबारदेखि बिदामा बसेकी हुन् ।
यसअघि गत चैत १८ गतेदेखि सर्वोच्च अदालतको कायममुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी मल्ल वरिष्ठताका आधारमा न्यायालयको नेतृत्व सम्हाल्ने स्वाभाविक दाबेदार थिइन् । तर, प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले पहिलो नम्बरमा रहेकी मल्ल, दोस्रोका कुमार रेग्मी र तेस्रोका हरिप्रसाद फुयाँललाई पन्छाउँदै चौथो वरीयताका डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
संवैधानिक परिषद्को उक्त निर्णयसँगै मल्ल सर्वोच्चको नेतृत्व पाउने अवसरबाट चुकेकी हुन् । नवनियुक्त प्रधानन्यायाधीश शर्माले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिई बुधबारबाटै कार्यभार सम्हालिसकेका छन् ।

