दार्चुलाको व्यास गाउँपालिका–४ सुनसेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव धामीले विद्यालय परिसरमै आत्महत्या गरेका छन्।
आफ्नो मृत्युअघि उनले लेखेको भावुक र विस्तृत ‘सुसाइड नोट’ले शिक्षा क्षेत्रभित्रको चरम राजनीति, गुटबन्दी र इमानदार व्यक्तिमाथि हुने मानसिक प्रताडनाको भयावह रूप उजागर गरेको छ। नोटमा उनले आफूलाई एउटा बालिका बलात्कारको झुटा र कपोकल्पित मुद्दामा फसाउन खोजिएको र सिंगो समुदायमा आफ्नो चरित्र हत्या गरिएको भन्दै गम्भीर पीडा व्यक्त गरेका छन्।
प्रअ धामीले नोटमा आफूले विद्यालयको जिम्मेवारी सम्हालेपछि गरेका ४६ बुँदे सुधारका कामहरू सूचीबद्ध गरेका छन्। ५०० रुपैयाँ मात्र मौज्दात रहेको विद्यालयको खातामा १२ लाख रुपैयाँ पुर्याउनु, १८ कोठे भवन निर्माण, डिजिटल ल्याब, र अनुशासन कायम गर्नु जस्ता कामले केही व्यक्तिहरूको स्वार्थमा धक्का लागेको उनको ठहर छ। उनले स्पष्ट रूपमा ६ जना शिक्षक, एक स्थानीय नेता र एक ठेकेदारको नामै तोकेर उनीहरूको षड्यन्त्रले आफूलाई डिप्रेसनको सिकार बनाई आत्महत्याको बाटो रोज्न बाध्य पारेको उल्लेख गरेका छन्।
आफूमाथि लागेको बलात्कारको कलंक धुन धामीले सरकार र प्रहरीसँग एउटा अन्तिम माग राखेका छन्— आफ्नो मृत शरीरको DNA परीक्षण होस्। उनले नोटमा लेखेका छन्, “मेरो DNA रिपोर्टले म निर्दोष रहेको प्रमाणित गर्नेछ, त्यसपछि मात्र मेरो अन्त्येष्टि गरियोस्।” उनले आफ्ना छोराहरूलाई शिक्षण पेसा कहिल्यै नजोज्न सल्लाह दिँदै प्रधानमन्त्री र गृहमन्त्रीसँग दोषीहरूलाई हदैसम्मको कारबाहीको अपिल गरेका छन्। यो घटनाले हाल दार्चुला र देशभरका शिक्षाकर्मीहरू माझ ठूलो आक्रोश र शोक पैदा गरेको छ।
प्रअ धामीले आफ्नो मृत्युको मुख्य योजनाकारका रूपमा दम्फा माविका प्रअ प्रमानन्द भट्टलाई तोकेका छन् भने सम्पाल माविका शिक्षकहरू दलिदत्त भट्ट, पदमराज भट्ट, हरि भट्ट, पुष्करराज भट्ट र विक्रम सिंह कुँवरलाई मतियारको रूपमा उल्लेख गरेका छन्। साथै, राजनीतिक आडमा आफूलाई दबाउन खोज्ने स्थानीय नेता नरेन्द्र भट्ट र ठेकेदार खेमराज भट्टमाथि पनि कडा छानबिनको माग गरिएको छ।

