आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले संयुक्त राज्य अमेरिकामाथि ९ विकेटको प्रभावशाली जित हात पारेको छ।
कुशल भुर्तेलले मात्र ११८ बलमा १३ चौका र ४ छक्का प्रहार गर्दै १२० रनको अविजित पारी खेले। उनले १०४ बलमै आफ्नो शतक पूरा गरेका थिए।जितका लागि १९६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले ५८ रनको ओपनिङ साझेदारी गर्दै बलियो जग बसालेका थिए। आसिफ शेख ५८ रन बनाएर आउट भए पनि कुशलले इशान पाण्डेसँग मिलेर नेपाललाई जितसम्म पुर्याए।
आजको खेलबाट डेब्यु गरेका इशान पाण्डे २० रनमा अविजित रहे। टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकालाई नेपालले ४३.३ ओभरमा १९५ रनमै समेटेको थियो। बलिङतर्फ दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट झारे। सन्दीप लामिछाने र गुलशन झाको नाममा १–१ विकेट रह्यो।
यो जित नेपालका लागि निकै महत्त्वपूर्ण सावित भएको छ। विश्वकप छनोटको सम्भावना जीवित राख्न र एकदिवसीय (ODI) मान्यता जोगाउन नेपालले आफ्ना बाँकी खेलहरू जित्नुपर्ने दबाबका बीच आजको उत्कृष्ट प्रदर्शनले टोलीमा नयाँ उत्साह थपेको छ।

