प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने दिन तय गर्नुभएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका जिज्ञासाहरूको प्रधानमन्त्रीले वैशाख ३१ गते जवाफ दिने गरी कार्यक्रम तय गरिएको हो ।
संसद्को बैठकमा जानकारी गराउँदै सभामुख अर्यालले भन्नुभयो, “सम्माननीय राष्ट्रपतिको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८३/०८४ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तुत गर्न, छलफलमा भाग लिन र सम्माननीय प्रधानमन्त्रीबाट जवाफ दिनका लागि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३८ को उपनियम १ बमोजिम २०८३ साल वैशाख ३१ गतेको दिन तोकेको जानकारी गराउँदछु ।”
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममाथि अहिले सदनमा विभिन्न दलका सांसदहरूले संशोधन प्रस्ताव राख्ने र छलफल गर्ने क्रम जारी छ ।

