पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर भएको वृद्धिसँगै सरकारले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ। यातायात व्यवस्था विभागले पछिल्लो १५ दिनभित्रै दोस्रो पटक भाडा वृद्धि गर्ने निर्णय गरेको हो।
विभागका अनुसार अन्तर-प्रदेश चल्ने लामो दूरीका यात्रुवाहक सवारी साधनको भाडा ५ प्रतिशतले बढाइएको छ। यसैगरी, तराई र पहाडी सडकमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा पनि सोही अनुपातमा वृद्धि गरिएको छ।
डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ पुगेपछि स्वचालित प्रणाली (अटोमेटिक फियर मेकानिज्म) अनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ। इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढीले घटबढ हुँदा भाडादर पनि सोही अनुसार परिवर्तन गर्ने सरकारी नीति रहेको छ।
यसअघि वैशाख ८ गते मात्रै सरकारले यातायातको भाडा १६ प्रतिशतभन्दा बढीले बढाएको थियो। १५ दिन नबित्दै फेरि भएको यो वृद्धिले सर्वसाधारण यात्रु र दैनिक उपभोग्य वस्तुको ढुवानी लागतमा थप भार पर्ने देखिएको छ।

