आज साँझ सात बजेभित्र सुकुम्बासी बस्ती खाली गर्न जिल्ला प्रशासन कार्यालयको आदेश

spot_img

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सुकुम्बासी बस्तीका अवैध घर-टहराहरू आज साँझ ७ बजेभित्र खाली गर्न अन्तिम आदेश जारी गरेको छ। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालद्वारा जारी सूचना अनुसार, तोकिएको समयभित्र बस्ती खाली गर्न र घर-टहरामा भएका सरसामान, लत्ताकपडा, तथा पशुपक्षीलाई सुरक्षित स्थानमा तत्काल सार्न अनुरोध गरिएको छ।

आफैँ सर्न नसक्ने अवस्थामा रहेकाहरूलाई प्रहरीले सहयोग गर्ने र विशेषगरी अपाङ्गता भएका व्यक्ति, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा एवं बिरामीहरूलाई प्राथमिकताका साथ स्थानान्तरण गर्न भनिएको छ। यसका लागि काठमाडौं महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मद्दत लिन समेत आग्रह गरिएको छ।

सूचनामा उल्लेख भए अनुसार, वैशाख १२ गते बिहान ६ बजेदेखि डोजर प्रयोग गरी घर-टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गराउने कार्य सुरु गरिनेछ। यस कार्यमा कसैले बाधा पुर्‍याएमा कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ। यदि कसैले सूचना अटेर गरेमा संयुक्त कारबाहीका क्रममा भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार सम्बन्धित व्यक्ति स्वयं हुनुपर्ने स्पष्ट पारिएको छ। बस्ती खाली गराउनका लागि शनिबार र आइतबार २० वटा डोजर तयारी अवस्थामा राखिएको र करिब १५ हजार सुरक्षाकर्मी परिचालन गरिने समाचारमा उल्लेख छ।

सम्बन्धित समाचार

ताजा समाचार