आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी: नेपालले आज आफ्नो पहिलो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्दै

spot_img

रुवान्डाको किगालीस्थित गहङ्गा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज नेपालले आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी २०२६ को आफ्नो पहिलो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुने यस खेलमार्फत नेपाल र अमेरिका महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक एक-अर्काको सामना गर्दैछन्। यसअघि यी दुई टोलीबीच अभ्यास खेल भए पनि त्यसले आधिकारिक टी-२०आई मान्यता पाएको थिएन, जसका कारण यो भिडन्त दुवै टोलीका लागि ऐतिहासिक र महत्त्वपूर्ण मानिएको छ।

अप्रिल १८ देखि मे १ सम्म आयोजना हुने यस प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु गरी पाँच टोली सहभागी छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसोसिएट राष्ट्रहरूलाई थप एक्सपोजर र अवसर प्रदान गर्ने उद्देश्यले पहिलो पटक यो प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिता डबल राउण्ड रोबिन प्रणालीमा खेलाइनेछ, जसमा प्रत्येक टोलीले अन्य टोलीसँग दुई-दुई पटक खेल्नेछन् र अंक तालिकामा शीर्ष स्थान हासिल गर्ने टोली नै च्याम्पियन बन्नेछ।

सहभागी टोलीहरूमध्ये नेपाल वरीयताका आधारमा सबैभन्दा बलियो स्थितिमा रहेको छ। आईसीसीको पछिल्लो वरीयता अनुसार नेपाल २१औं स्थानमा छ भने इटाली २३औं, अमेरिका २४औं, रुवान्डा २५औं र भानुआतु ३०औं स्थानमा रहेका छन्। वरीयतामा माथि रहेका कारण नेपाललाई यस प्रतियोगिताको मुख्य दाबेदारको रूपमा हेरिएको छ। पहिलो पटक रुवान्डाको मैदानमा ओर्लिएको नेपाली महिला टोली उच्च मनोबलका साथ मैदानमा उत्रने तयारीमा छ।

सम्बन्धित समाचार

ताजा समाचार