काठमाडौं । काठमाडौंको ऐतिहासिक र सांस्कृतिक केन्द्र असनको मौलिकता जोगाउन काठमाडौं महानगरपालिकाले आज वैशाख ५ गतेदेखि लागू हुने गरी हरेक शनिबार ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ। असन क्षेत्रको सामाजिक, सांस्कृतिक र व्यापारिक वातावरणलाई थप जीवन्त बनाउने उद्देश्यले सुरु गरिएको यस अभियानअन्तर्गत अब हरेक शनिबार असनका गल्लीहरूमा सवारी साधन प्रवेश गर्न पाउने छैनन्।
यस विशेष अभियानको अवधिमा असनमा रैथाने ज्ञान र सीपको प्रदर्शनीका साथै परम्परागत गायन, वादन तथा नृत्य जस्ता विभिन्न सांस्कृतिक गतिविधिहरू सञ्चालन गरिनेछन्। सुरुमा चैत २८ गतेबाटै यो कार्यक्रम थाल्ने योजना भए पनि तयारीलाई थप व्यवस्थित बनाउन कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा बसेको सरोकारवालाहरूको बैठकले यसलाई एक हप्ता पछाडि सारेर आजदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो।
असन आउने आगन्तुकहरूका लागि महानगरले सवारी व्यवस्थापनमा सहजता ल्याउन धरहराको भूमिगत पार्किङ, जमल बहाल र दरबार हाइस्कुलमा सवारी राख्ने व्यवस्था मिलाएको छ। त्यहाँ सवारी पार्क गरेपछि पैदल यात्रा गर्दै असन प्रवेश गर्न महानगरपालिकाले सबैमा अनुरोध गरेको छ। यो कदमले असनको ऐतिहासिक स्वरूपको संरक्षण हुनुका साथै पैदलयात्रीहरूलाई सहज, सुरक्षित र कोलाहलमुक्त वातावरणमा किनमेल र अवलोकन गर्ने अवसर मिल्ने विश्वास गरिएको छ।

