काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी मेन्स क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा हुने दुईवटा शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय ओडिआई टोलीको घोषणा गरेको छ । शुक्रबार सार्वजनिक गरिएको यस टोलीमा युवा ब्याटर अर्जुन कुमालले पहिलोपटक स्थान बनाउन सफल भएका छन् ।
घरेलु क्रिकेट र उमेर समूहमा लगातार शानदार प्रदर्शन गर्दै आएका अर्जुन कुमालले पहिलोपटक राष्ट्रिय ओडिआई टोलीमा प्रवेश पाएका हुन् । जारी प्रधानमन्त्री (पीएम) कपमा समेत उत्कृष्ट लयमा रहेका कारण उनलाई टोलीमा समावेश गर्नुपर्ने माग हुँदै आएको थियो ।
यसैगरी, अनुभवी विकेटकिपर ब्याटर विनोद भण्डारीले लामो समयपछि टोलीमा पुनरागमन गरेका छन् । उनले अन्तिम पटक सन् २०२२ मा स्कटल्यान्डविरुद्ध ओडिआई खेल खेलेका थिए ।
टोलीको संरचना घोषित टोलीमा दीपेन्द्रसिंह ऐरी उपकप्तानका रूपमा रहेका छन् ।
नेपाली टोलीका सदस्यहरू: रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, बसिर अहमद, नन्दन यादव, गुलशन झा, अर्जुन कुमाल, सोमपाल कामी, सन्दीप लामिछाने, करण के सी र ललित राजवंशी ।


