नेपाली राजनीतिका प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री सुदन किरातीले आफ्नो पार्टीबाट राजीनामा दिएसँगै पूर्वी नेपालको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ। भर्खरै सम्पन्न आम निर्वाचनमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई भित्री रूपमा सहयोग गरेका किरातीको यो कदमलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
Gen Z को आन्दोलनपछि गठन भएको हर्क साम्पाङको श्रम संस्कृति पार्टीले पहिलो गाँसमै ढुङ्गा नभई सफलता हात पारेको छ। उक्त पार्टीले प्रत्यक्षतर्फ ३ सिट र समानुपातिकतर्फ ४ सिट गरी कुल ७ सिट जितेर राष्ट्रिय पार्टीको मान्यता मात्र पाएन, संसद्मा पाँचौँ ठूलो शक्तिको रूपमा समेत उदाएको छ। विशेषगरी पूर्वी नेपालका पहाडी जिल्लाहरूमा यो पार्टीको प्रभाव अत्यधिक देखिएको छ, जहाँ सुदन किरातीको व्यक्तिगत पकड पनि बलियो मानिन्छ।
हिजो मात्र पार्टी परित्याग गरेका किराती र हर्क साम्पाङबीचको कार्यशैली र एजेन्डामा धेरै समानता देखिन्छ। दुवै नेताहरू भुइँमान्छेको राजनीति, श्रमको सम्मान र परम्परागत राजनीतिक सिन्डिकेटको विरुद्धमा उभिँदै आएका छन्। निर्वाचनको समयमा किरातीले पूर्वी नेपालमा साम्पाङका उम्मेदवारहरूलाई गरेको सहयोगले पनि उनी ‘श्रम संस्कृति’ तिरै ढल्किने सङ्केत गर्दछ।
यद्यपि, उनले औपचारिक रूपमा आफ्नो आगामी यात्रा खुलाएका छैनन्। राजनीतिक विश्लेषकहरूका अनुसार, सुदन किराती जत्तिको वैचारिक स्पष्टता भएको नेता श्रम संस्कृति पार्टीमा प्रवेश गरेमा हर्क साम्पाङको ‘हर्कवाद’ र किरातीको ‘भुइँतहको संगठन’ मिलेर पूर्वी नेपालमा पुराना दलहरूको अस्तित्व थप संकटमा पर्न सक्छ।

