सामाजिक सञ्जालमा साङ्गठनिक स्वरूपमा भइरहेको डिजिटल हिंसा र यौनजन्य दुर्व्यवहारविरुद्ध युवा अभियन्ता अमिसा पराजुलीले कानुनी लडाइँ सुरु गर्ने घोषणा गरेकी छिन्। आफूविरुद्ध भएका गालीगलौज, धम्की र चरित्रहत्याका प्रमाणहरू सङ्कलन गर्दै उनी नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिने तयारीमा जुटेकी हुन्।
नेकपा एमालेको च्यासलमा आयोजित प्रदर्शनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर केही समूहले उनीमाथि योजनाबद्ध रूपमा डिजिटल आक्रमण सुरु गरेका थिए। उनलाई लक्षित गरी बलात्कारको धम्की दिनेदेखि उनको फोटो दुरुपयोग गरी नक्कली सामाजिक सञ्जाल एकाउन्टहरू बनाएर आर्थिक लाभ लिने काम समेत भइरहेको पाइएको छ।
“मलाई तर्साएर चुप लगाउन खोज्नेहरूविरुद्ध म थाक्नेवाला छैन,” अमिसाले भनिन्, “मैले सबै स्क्रिनसट र आईडीहरूको विवरण सङ्कलन गरिसकेकी छु। अबको लडाइँ न्यायिक हुनेछ।”
अमिसाका अनुसार ‘अमिसा पराजुली अफिसियल’ जस्ता नाममा थुप्रै नक्कली टिकटक आईडीहरू बनेका छन्, जसले लाइभ बसेर मानिसहरूबाट उपहार (गिफ्ट) मागिरहेका छन्। सुरक्षा र मानसिक तनावका कारण उनले आफ्ना आधिकारिक एकाउन्टहरू ‘प्राइभेट’ गरेकी छिन्।

