युद्धको मैदानदेखि देशको संसदसम्म

spot_img

एक दशकअघि सम्म विश्वका खतरनाक युद्धभूमिहरूमा बेलायती झण्डामुनि खटिएका पूर्वगोर्खा क्याप्टेन पूर्ण लिम्बू अब नेपालको सर्वोच्च नीति निर्माण तह ‘संघीय संसद्’ मा प्रवेश गरेका छन्। संखुवासभाको मध्यम परिवारमा जन्मिएर २८ वर्ष बेलायती सेनामा सेवा गरेका ६२ वर्षीय लिम्बू श्रम संस्कृति पार्टीबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।

सन् १९८० मा ब्रिटिस गोर्खा सैनिकमा भर्ती भएका लिम्बूको सैन्य जीवन निकै साहसिक रहेको छ। उनले सन् १९८२ को चर्चित ‘फकल्यान्ड युद्ध’मा प्रत्यक्ष सहभागिता जनाएका थिए। त्यसबाहेक उनले अफगानिस्तान, बोस्निया, सिएरालियोन, ब्रुनाई र हङकङ जस्ता देशहरूमा सैन्य तथा शान्ति अभियानमा सक्रिय भूमिका निर्वाह गरे। सन् २००८ मा क्याप्टेन पदबाट अवकाश पाएका उनले बेलायतको प्रतिष्ठित गोर्खा प्रशिक्षण केन्द्रमा प्रशिक्षकको रूपमा समेत काम गरेका थिए।

अवकाशपछि बेलायतमा सपरिवार बस्न सक्ने सुविधा हुँदाहुँदै पनि उनी आफ्नै थातथलो फर्किएर समाजसेवामा सक्रिय भए। २०७२ को महाभूकम्प र कोरोना महामारीका बेला उनले पुर्‍याएको योगदानको कदर गर्दै सरकारले उनलाई ‘प्रबल जनसेवाश्री (चतुर्थ)’ पदकबाट सम्मानित गरेको थियो। उनी केवल सैनिक मात्र नभई एक कलाकार पनि हुन्। गाउँको खानेपानी समस्या समाधानका लागि उनले ‘नाम्लो’ नामक चलचित्र निर्माण र निर्देशन समेत गरेका थिए।

सम्बन्धित समाचार

ताजा समाचार