इरान र अमेरिकाबीचको बढ्दो तनावका कारण मध्यपूर्वमा युद्धको कालो बादल मडारिएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई होर्मुज स्ट्रेट पूर्ण रूपमा खुला गर्न ४८ घण्टाको समयसीमा (अल्टिमेटम) दिएपछि इरानले निकै कडा र गम्भीर जवाफी चेतावनी दिएको हो। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले स्पष्ट पारेको छ कि यदि अमेरिकाले इरानका ऊर्जा स्थल वा पावर प्लान्टहरूमा कुनै पनि किसिमको हमला गरेमा होर्मुज स्ट्रेटलाई पूर्ण रूपमा बन्द गरिदिनेछ। इरानी अधिकारीहरूका अनुसार आफ्ना ऊर्जा पूर्वाधारहरू पुनः निर्माण नभएसम्म यो मार्ग खोल्ने छैन, जसले गर्दा विश्वव्यापी तेल आपूर्तिमा ठूलो अवरोध सिर्जना हुने देखिएको छ।
होर्मुज स्ट्रेट विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्ग मानिन्छ, जहाँबाट विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुने गर्दछ। इरानको यो चेतावनीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि गराएको छ भने विश्वभर ऊर्जा संकटको चिन्ता बढाएको छ।
इरानी संसदका सभामुखले त झन् एक कदम अघि बढेर यदि इरानको पूर्वाधारमा क्षति पुगेमा यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविर र अन्य देशका ऊर्जा केन्द्रहरूलाई समेत निशाना बनाउने धम्की दिनुभएको छ। हाल दुवै पक्ष आ-आफ्नो अडानमा अडिग रहेकाले सोमबार मध्यरातसम्म कुनै कूटनीतिक निकास ननिस्किएमा स्थिति थप भयावह हुने र यसले विश्व अर्थतन्त्रमै गम्भीर असर पार्ने अनुमान गरिएको छ।

