नेपाल सरकारले छिमेकी मित्रराष्ट्र म्यानमारको ऐतिहासिक तथा धार्मिक सम्पदाको पुनरुत्थानका लागि साढे तीन लाख अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरेको छ।
सन् २०२५ को मार्चमा म्यानमारमा आएको विनाशकारी ७.९ रेक्टर स्केलको भूकम्पले पुर्याएको क्षतिको पुन:स्थापनाका लागि यो सहयोग घोषणा गरिएको हो। यस रकम मध्ये मुख्य अंश मन्डालेस्थित प्रसिद्ध महामुनी बुद्ध मन्दिरको ‘ढुङ्गे अभिलेख गृह’ पुनर्निर्माणमा खर्च गरिनेछ भने ५० हजार डलर म्यानमारमा रहेका नेपाली समुदायको आस्थाको केन्द्र गङ्गाघाट हिन्दू मन्दिरको मर्मत सम्भारका लागि छुट्याइएको छ।
म्यानमारमा हालै आयोजित एक समारोहबीच नेपाली राजदूत हरिशचन्द्र घिमिरेले उक्त सहयोग रकम हस्तान्तरण गर्दै दुई देशबीचको पुरानो सांस्कृतिक सम्बन्ध र संकटको समयमा एकअर्कालाई सहयोग गर्ने परम्परालाई जोड दिनुभएको छ।

