आज नेपालले इटालीविरुद्ध खेल्दै गर्दा यो केवल एउटा खेल मात्र हुनेछैन, यो नेपाली क्रिकेटको विगत र वर्तमान जोड्ने एउटा भावनात्मक कडी पनि हुनेछ।
मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा जब नेपाली टोली इटालीविरुद्ध मैदान उत्रनेछ, धेरै नेपाली प्रशंसकहरूका लागि त्यो क्षण सन् २०१४ को बंगलादेश विश्वकपको याद ताजा गराउने एउटा माध्यम बन्नेछ। संयोग कस्तो छ भने, १३ वर्षअघि सन् २०१३ मा आइसीसी विश्व टी–२० छनोटमा नेपालले इटालीलाई पराजित गरेर नै विश्वकपमा आफ्नो स्थान लगभग पक्का गरेको थियो। आज १३ वर्षपछि फेरि विश्वकपको मुख्य मञ्चमै यी दुई टोली आमनेसामने हुँदैछन्।
२०१४ को त्यो सुनौलो याद
सन् २०१४ मा नेपालले पहिलोपटक विश्वकप खेल्दा पूरै देश क्रिकेटमय बनेको थियो। त्यो बेलाका कप्तान पारस खड्का केवल एक खेलाडी मात्र नभई नेपाली क्रिकेटका पर्याय थिए। हङकङ र अफगानिस्तानलाई हराउँदै नेपालले विश्व क्रिकेटलाई आफ्नो उपस्थितिको संकेत दिएको थियो। त्यो टोलीमा शक्ति गौचनको फिरकी र पारसको कप्तानीले एउटा छुट्टै ’नोस्टाल्जिया’ सिर्जना गर्छ। रोचक कुरा के छ भने, त्यतिबेला मैदानमा कप्तानी गर्ने पारस खड्का अहिले नेपाल क्रिकेट संघ क्यानको सचिवको रूपमा प्रशासनिक कमाण्ड सम्हालिरहेका छन् ।
२०१४ र २०२६ः एउटा तुलना
विगत र वर्तमानको नेपाली टोलीलाई हेर्दा केही आधारभूत भिन्नता र समानताहरू देखिन्छन् ।
अनुभव र जोशः २०१४ को टोलीमा ’भोक’ र ’जुनुन’ थियो। आजको २०२६ को टोलीमा त्यो जोशसँगै आधुनिक क्रिकेटको ’अनुभव’ र ’एक्सपोजर’ थपिएको छ। सोमपाल कामी, जो २०१४ को टोलीका सदस्य थिए, उनी अहिले पनि टोलीका खम्बा हुन्।
नेतृत्वः पारस खड्काको नेतृत्व ’आक्रामक र प्रेरणादायी’ थियो भने वर्तमान कप्तान रोहित पौडेलको नेतृत्व ’धैर्य र रणनीतिक’ देखिन्छ। रोहितले हालै इंग्ल्यान्डविरुद्ध देखाएको प्रदर्शनले नेपाल अब कुनै पनि ठूलो टोलीलाई हराउन सक्षम छ भन्ने प्रमाणित गरेको छ।
संरचनाः २०१४ मा नेपालले सिमित स्रोत र साधनका बीच चमत्कार गरेको थियो। अहिले पारस खड्का आफैं क्यानको नेतृत्वमा हुँदा खेलाडीहरूले पहिलेको तुलनामा धेरै अवसर र अभ्यासका सुविधाहरू पाएका छन्।
आज खेलः इतिहास दोहोर्याउने अवसर
इटालीलाई १३ वर्षअघि हराएर विश्वकपको ढोका खोलेको नेपालले फेरि त्यही इतिहास दोहोर्याउन चाहन्छ। इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएपनि नेपालको आत्मविश्वास उच्च छ। पारस खड्काको त्यो लेगेसीलाई रोहितको युवा टोलीले वानखेडेको मैदानमा कसरी उतार्छ, त्यो हेर्न बाँकी छ।

