काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका निर्णय बिचौलियाहरूको हितमा रहेकाे धारणा राखेकाे छ ।
बुधबार पत्रकार सम्मेलन गरी माओवादी केन्द्रले वर्तमान सरकार प्राविधिक रूपमा अस्तित्वमा भएपनि राजनीतिक रूपमा आफ्नो वैधानिकता गुमाइसकेको बताए । साथै सरकारले आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएकोले सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार नभएकाे समेत बताए ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले भने, ‘वर्तमान सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन ।’
वर्तमान दुईदलीय गठबन्धन सरकारले यसअघिको प्रचण्ड नेतृत्वको सरकारले गरेका भ्रष्टाचारविरोधी अभियानलाई उल्ट्याएको, सुशासन कायम गर्न लागेका अधिकारीहरूलाई छानीछानी दण्डित गर्ने, अपमानजनक तरिकाले पदबाट हटाउने, राजीनामा दिन बाध्य गराउनेजस्ता काम यो सरकारले गरेको माओवादी टिप्पणी गरे ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले भने, ‘आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने, विपक्षहरूप्रति छानीछानी सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारबाहीको शृङ्खला नै खडा गरेको छ ।’
सापकोटाले शिक्षा ऐनको माग गर्दै सडकमा उत्रिएका शिक्षकका माग पूरा गर्नभन्दा उनीहरूलाई होच्याउने, अपमानित गर्ने काम गरेकाे समेत बताए । उनले शिक्षा विधेयक फास्ट ट्र्याकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग जोडदार माग समेत गरे ।
माओवादी केन्द्रले भारतको जम्मू-कश्मिरमा भएको अतिवादी हमलामा नेपाली नागरिक सुदिप न्यौपानेसहित पर्यटकहरूको निधन भएको घटनाप्रति भर्त्सना गरेको छ।

