धादिङ । धादिङको थाँक्रे गाउँपालिकाले जनप्रतिनिधि तथा विद्यालय शिक्षक तथा कर्मचारीहरुले आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने भएकाे छ ।
पालिकाले सुचना सार्वजनिक गर्दै गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरु र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफ्ना छाेराछाेरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने जानकारी दिएकाे छ ।
थाक्रे गाउँपालिकाले कार्यपालिकाबाटै निर्णय गरेर गाउँपालिका र शैक्षिक क्षेत्रसँग सम्बन्धित जिम्मेवार व्यक्तिहरुले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्ने निर्णय गरेको हो ।
सूचनामा भनिएको छ, ‘गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरु र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफ्नो सन्ततिहरूलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरी पढाउनु पर्ने निर्णय भएको हुँदा सोही अनुसार गर्नु गराउनुहुन सम्बन्धित सबैमा जानकारीका लागि आदेश अनुसार अनुरोध छ।’
सरकार कोषबाट तलब भत्ता खानेका छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने माग बेला बखत चर्को रुपमा उठ्ने गरेकाे छ ।


