कक्षा १२ को परीक्षा र भर्ना अभियानमा संलग्न नहुन शिक्षक महासंघको आग्रह

माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा संलग्न नहुन, उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक तथा शिक्षक–कर्मचारीलाई आग्रह गरेको छ ।

spot_img

काठमाडाैँ । नेपाल शिक्षक महासंघले यही वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा र भर्ना अभियानमा संलग्न नहुन शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको छ । आन्दोलनरत नेपाल शिक्षक महासंघले सोमबार विज्ञप्ति जारी गर्दै याे अवधिमा कक्षा १२ को परीक्षामा संलग्न नहुन केन्द्राध्यक्ष, निरीक्षक लगायत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको हाे ।

‘२०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरुमा अपील गर्दछौं । शीघ्रातीशीघ्र शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरी दिनुहुन विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति गाउँ/नगरपालिका तथा सबै शैक्षिक सरोकार पक्ष समक्ष अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा माग पूरा नभएसम्म उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक तथा शिक्षक–कर्मचारीलाई आग्रह गरेको छ ।

सरकारले आजदेखि नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सर्कुलर गरे पनि शिक्षकहरूले माग पूरा नभएसम्म विद्यालय नफर्किने अडान लिएका छन् ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि देशभरका शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी छ ।  विगतमा पटक–पटक सहमति गर्ने तर कार्यान्वयन नहुने भएका कारण ऐन जारी नभएसम्म सडक आन्दोलन जारी राख्ने  शिक्षकहरूले अडान लिएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार