घलेगाउँ नेपालको उत्कृष्ट होमस्टे गन्तव्य हाे : मन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले घलेगाउँ नेपालको उत्कृष्ट होमस्टे गन्तव्य रहेकाे बताउँदै विश्वले चिनेको समेत बताए ।

spot_img

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले घलेगाउँ नेपालको उत्कृष्ट होमस्टे गन्तव्य रहेकाे बताएका छन् ।  लमजुङको प्रसिद्ध पर्यटकीय गन्तव्य घलेगाउँमा ‘घलेगाउँ पर्यटन रजत जयन्ती’ कार्यक्रमको उद्घाटन गर्दै उनले घलेगाउँ नेपालको उत्कृष्ट होमस्टे गन्तव्य रहेकाे र यसलाई विश्वले चिनेको बताएका हुन् ।

मन्त्री गुरूङले घलेगाउँबाट सुरू भएको होमस्टे अभ्यास अहिले देशैभर फैलिएको बताए । उनले लमजुङ जिल्ला ७७ वटै जिल्लामा गाउँ पर्यटन फैलाउने नेतृत्त्दायी जिल्लाका रूपमा चिनिएको समेत बताए ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले घलेगाउँको यात्रा दुःख, विकटता र अभावबाट सुरू भएर अहिलेको स्मार्ट भिलेजको यात्रासम्म आइपुगेको बताए । उनले परिवर्तनको मूल रहस्य समुदायको एकता, नेताहरूको अठोट र जनसहभागिता भएको उल्लेख गरे ।

मन्त्री गुरुङले नेपाललाई पर्यटनको केन्द्रविन्दु बनाउन ग्रामीन पर्यटन मजबुत बनाउनुपर्ने विचार व्यक्त गरे ।

नेपालको हरेक गाउँलाई ‘जीवन्त सङ्ग्रहालय’ को रूपमा परिभाषित गर्दै विविधता, प्रकृति र संस्कृतिको यो सुन्दर मिश्रणले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकिने मन्त्री गुरुङले विश्वास व्यक्त गरे। ‘भाग्य र भविष्य थाहा हुँदैन, तर कसैको अठोट, नीति र कार्यक्रमले नै भाग्य कोर्न सक्छ’, उनले भने।

घलेगाउँ पर्यटन व्यवस्थापन समितिको आयोजनामा सुरु भएको यो‘घलेगाउँ पर्यटन रजत जयन्ती’ कार्यक्रमले घलेगाउँको २५ वर्षे पर्यटन यात्रालाई स्मरण गर्दै गाउँ पर्यटनको महत्त्व र योगदानलाई उजागर गर्ने उद्देश्य राखेको छ।

सम्बन्धित समाचार

ताजा समाचार