अछामका आगलागीपीडितलाई प्रदेश सरकारले ५० लाख दिने

spot_img

कैलाली । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा मंगलबार बेलुकी भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्कालका लागि ५० लाख रुपैयाँ राहत बाँड्ने निर्णय गरेको छ ।

बुधबार बिहान मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकले आगलागी पीडितहरूलाई ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । उक्त रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट बान्नीगढी जयगढ गाउँपालिकालाई उपलब्ध गराइनेछ र पालिकाले मानवीय सहायतासम्बन्धी मापदण्ड बनाएर आगलागी पीडितहरूलाई राहत उपलब्ध गराउनेछ ।

क्षतिको पूर्ण विवरण प्राप्त भएपछि प्रदेश सरकारले थप सहयोग गर्ने मुख्यमन्त्री शाहले बताए । प्रदेश सरकारले त्यहाँको स्थलगत अवस्था बुझ्न सामाजिक विकासमन्त्री मेघराज खड्का र आन्तरिक मामिलामन्त्री हिरा सार्कीलाई जयगढ पठाउने निर्णयसमेत गरको मुख्यमन्त्री शाहले जानकारी दिए ।

मंगलबार साँझ ७ बजे ग्यास सिलिण्डरबाट सल्केको आगोले भीषण रूप लिएको थियो । आगो पाँच घण्टापछि राति १२ बजे मात्रै नियन्त्रण भएको थियो ।

आगलागीबाट जयगढ बजारमा रहेका २७ वटा पसल र घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ ।  प्रारम्भिक विवरणअनुसार सात करोड बढीको क्षति भएको बताइएकाे छ ।

बान्नीगढी गाउँपालिका वडा नम्बर ३ मा पर्ने जयगढ बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा आगो फैलिएको थियो ।

 

सम्बन्धित समाचार

ताजा समाचार