काठमाडाैँ । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा प्रदर्शन गर्दैछ । प्रदर्शनका लागि आज दिउँसो ११ बजेदेखि जुलुस सुरु हुने र १२ बजेदेखि सभा सुरु गर्ने तयारी रहेकाे छ ।
३० औं हजारलाई सभामा सहभागी गराउने भनिएकाे उक्त प्रदर्शनमा ११ बजेदेखि कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट जुलुस निस्किने र १२ बजेदेखि सभा सुरु हुने पार्टीले जानकारी दिएको छ ।
प्रदर्शनका कारणा चक्रपथ क्षेत्रको सवारी आवागमन प्रभावित हुने भएपछि प्रहरीले उक्त क्षेत्रमा सवारी डाइभर्सनको प्रबन्ध गरेको छ।
प्रहरीका अनुसार कलंकीको खसिबजार–मकालु–कलंकी चोक हुँदै बाफलतर्फ सवारी डाइभर्सन गरिनेछ ।
त्यस्तै बल्खु चोक–कुलेश्वर–कालीमाटी चोक–टेकु पुग्ने गरी पनि सवारी डाइभर्सन गरिएकाे छ । कीर्तिपुर–सुन्दरीघाट–सानेपा–एकान्तकुना पुग्ने गरी डाइभर्सन तय गरेको प्रहरीले बताएको छ।
प्रदर्शनका कारण सवारी चाप बढेमा त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइलाका विन्दुहरूमा पनि यातायात डाइभर्सन गर्ने प्रहरीको तयारी छ । त्यस्तै चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर चोकमा पनि डाइभर्सनको प्रबन्ध गर्ने प्रहरीले बताएको छ ।
त्यस्तै कार्यक्रममा सहभागी हुन सवारी साधन लिएर आउनेहरूले त्रिभुवन विश्वविद्यालय गेटदेखि दक्षिणतर्फको चोभार सडकमा, सानेपा करिडोर सडकको दुबै तर्फ पार्किङ गर्न सकिने प्रहरीले जानकारी दिएको छ ।छ।
त्यस्तै चोभार सुख्खा बन्दरगाह, नयाँ बसपार्क र सीतापाइला– बाफल सडक खण्डमा एक लाइन सवारी साधन व्यवस्थापन गर्न सकिने प्रहरीले बताएको छ ।
सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका पार्टीका नेताहरुले सम्बोधन गर्ने छन् । सभा शान्तिपूर्ण र मर्यादित बनाउनका लागि सयौँकाे संख्यामा स्वयंसेवक परिचालन गरिएकाे पार्टिले बताएकाे छ । प्रदर्शनमा घुसपैठको शंका लागेमा तुरुन्तै नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले निर्देशन दिएको समेत पार्टीले जनाएकाे छ ।

