जडीबुटी केन्द्र : करिब २८ करोड क्षति, अस्थायी रूपमा सञ्चालनमा ल्याउन १० करोड चाहिने

spot_img

काठमाडाैँ । राजावादीले गरेकाे आगजनीका कारण जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा करिब २८ कराेडकाे क्षति भएकाे छ ।  वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले बिहीबार केन्द्रको अवलोकनपछि सञ्चारकर्मीसँगको कुराकानी गर्दै प्रारम्भिक मूल्यांकनमा करिब २८ करोड रुपैयाँ हाराहारी क्षतिको विवरण आएको बताएका हुन् ।

“घटनापछि निरन्तर रूपमा कम्पनीको व्यवस्थापन र कर्मचारीको परिस्थिति अत्यन्तै जटिल छ। हामीले त्यो बुझिरहेका छौँ। अब यसलाई छिटोभन्दा छिटो सञ्चालन गर्न, प्रारम्भिक क्षति मूल्यांकन गर्न सम्बन्धित प्राविधिक, विज्ञ राखेर प्रारम्भिक मूल्यांकन गरिएको छ। करिब २८ करोडको हाराहारीमा क्षति भएको र यसमा घटबढ हुनसक्छ,” उनले भने।

आगजनीका कारण क्षति भएकाे जडिबुटी कम्पनि अस्थायी रूपमा सञ्चालन गर्न तत्काल करिब १० करोड रुपैयाँ आवश्यकता पर्ने समेत मन्त्री शाहीले बताए । केन्द्रलाई तत्काल सञ्चालन लागि आवश्यक १० करोड रुपैयाँका विषयमा मन्त्रिपरिषद्को बैठकमा छलफल भइसकेकाले यथाशीघ्र प्रक्रिया पूरा गरेर केन्द्र सञ्चालन गरिने पनि बताए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र आगो लगाउनेलाई कानुनी दायरामा आउनुपर्ने र सरकारले ल्याउनुपर्ने बताइन् ।

उनले केन्द्र सार्नका लागि सरकारले योजना बनाउनुपर्ने समेत बताइन् । आगजनीपछि ध्वस्त भएको उक्त केन्द्रको बिहीबार अवलोकनपछि सांसद गाैतमले भनिन, ‘जतिबेला स्थापना भयो, खुला ठाउँ थियो, अब घना बस्ती भइसकेकाले यहाँ उपयुक्त छैन भन्ने महसुस भएको छ । सरकारले उपयुक्त स्थानमा सार्नको लागि योजना बनाउनुपर्छ ।’

जडीबुटीमा रहेको उक्त केन्द्र रहेको स्थान सांसद गौतमको निर्वाचन क्षेत्र समेत हो ।

निर्वाचन क्षेत्रका युवाहरूले गौतमलाई केन्द्रको अवलोकन र छिटो सञ्चालनमा ल्याउनका लागि पहल गर्न आग्रह गरेका थिए । सोही अनुसार सांसद गौतमले बिहीबार वनमन्त्री ऐनबहादुर शाहीलाई समेत लगेर केन्द्रको अवलोकन गराएकी थिइन ।

प्रशोधन केन्द्रकी महाप्रबन्धक संगीता यादवलगायत पदाधिकारीले आगलागीबाट क्षति भएको भग्नावशेषको अवलोकन गराउँदै क्षतिबारे जानकारी गराएका थिए । प्रशोधन केन्द्रकी महाप्रबन्धक यादवले नयाँ उत्पादनको तयारी गरिरहेका बेला आगो लाग्दा ठूलो क्षति भएको बताइन् । उनका अनुसार उद्योगको दुइटा भवन र १३ वटा गाडी जलेर क्षति भएको छ ।

प्रशोधन केन्द्रका भग्नावशेष बनेको छ । गाडीहरू जलेका छन् । करोडौंको क्षति भएको छ । राजसंस्था समर्थकको चैत १५ प्रदर्शनका क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनी गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार