काठमाडाैँ । सभामुख देवराज घिमिरेले रविको सांसद पद फुकुवा गर्न नमिल्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुखलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि गरेकाे आग्रहमा सभामुखले सो कुरा बताएका हुन् ।
सभामुख घिमिरेले रविलाई भने, ‘तपाईँसहितको संसद भएको भए राम्रो हुन्थ्यो। तर, मैले नियमावली हेरेर कानूनअनुसार गरेको हुँ। कानूनभन्दा माथि कोही छैन। मैले निलम्बन फुकुवा गर्न सक्दिनँ भन्ने कुरा बुझिदिनुपर्यो।’
मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले साे माग गरेका हुन् । यसअघि पनि निलम्बन फुकुवाका लागि सभामुखलाई भेटेर आग्रह गरेका थिए ।
गत कात्तिक २ गते पक्राउ परेका लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो ।

