काठमाडौं महानगरले तोक्यो पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना

spot_img

काठमाडाैँ । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ । शुक्रबार तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेकोलगायत विभिन्न शीर्षकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई महानगरले जरिवाना तोकेको हाे ।

ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाडौंका नाममा महानगरले  शनिबार ८ वटा बेग्लाबेल्लै पत्र काटेर जरिवाना तोकेकाे हाे ।

शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो ।

याे पनि : राजावादीले गरे १५ सवारी र १४ ठाउँमा तोडफोड र आगजनी

प्रदर्शनमा २ जनाको मृत्यु हुनुका साथै ११० जना घाइते भएका थिए ।

दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा भएकाे प्रदर्शनले ठूलाे जनधनकाे क्षती भएकाे थियो।

बिहीबार प्रसाईंले निर्मल निवास पुगेर पूर्वराजालाई भेटेका थिए। त्यसलगत्तै उनलाई राजसंस्था पुनर्स्थापनाका लागि भन्दै कमाण्डर तोकिएको थियो । प्रदर्शनकारीहरूले महानगरका विभिन्न संरचना, दमकल, अग्नि नियन्त्रकहरूमाथि प्रहार गरेकोमा महानगरले पूर्वराजा शाहलाई जरिवाना लगाउने निर्णय गरेको हो ।

शनिबार काठमाडौं महानगरपालिकाको टोलीले तीनकुने(कोटेश्वर(जडिबुटी क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरेको थियो। उक्त विवरण संकलन गरी लाग्‍ने खर्च र सरसफाइको शुल्क पनि पूर्वराजा शाहबाटै असुल गराउने निर्णय भएको हो।

यी हुन् महानगरले पूर्वराजासँग मागेको जरिवानाका शीर्षक
१) कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
२) महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
३) तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
४) जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
५) बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
६) सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
७) महानगरको दमकल फुटाएको– १ लाख ३० हजार
८) तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड– ४० हजार
९) तीनकुनेको आइल्याण्डमा तोडफोड– २३ हजार

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र भोलि (आइतबार) कार्यालय समय खुलेपछि निर्मल निवासमै लगेर बुझाउने भएको छ ।

 

 

सम्बन्धित समाचार

ताजा समाचार